सशस्त्र प्रहरीका ६ एसएसपीसहित दर्जनौं सशस्त्र प्रहरी अधिकृतले पाए दर्ज्यानी चिन्ह

सोमबार, भदौ २, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसएसपीमा बढुवा भएका ६ जनासहित सशस्त्र प्रहरीको विभिन्न पदमा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आज सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी अर्यालले ६ एसएसपी,२२ एसपी,एक प्राविधिक एसपी, ४८ डीएसपी र एक जना प्राविधिक इन्स्पेक्टर तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक डीएसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतीको विशेष महत्व हुने र पदोन्तीसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ कार्यक्षेत्रमा संगठनप्रति निष्ठावान हुँदै कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

अर्यालले  राष्ट्र र संगठनको लक्ष्य हासिल गर्न सशस्त्र प्रहरी अधिकृतहरुको दक्षता र जिम्मेवारी बहन गर्ने क्षमताले महत्वपूर्ण योगदान पु¥याउने बताउँदै आ–आफ्नो पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यवसायिकताका साथ नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्न समेत निर्देशन दिएक हुन् ।

आज दर्ज्यानी चिन्ह पाएकाहरु गृह मन्त्रीस्तरको २०८२ साउन २८ गतेको निर्णयले सशस्त्रको एसपीबाट एसएसपी, गृहमन्त्रालय (सचिवस्तर)को  २०८२ साउन २९ गतेको निर्णयले डीएसपीबाट एसपी  र गृहमन्त्रालय (सचिवस्तर)को २०८२ भाद्र १ गतेको निर्णयले इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए। 

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको उपस्थिती रहेको  सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्