भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

आइतबार, भदौ १, २०८२

काठमाडौँ । भारतका विदेशसचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव मिश्री आज बिहान  काठमाडौं आइपुगेका हुन् । 

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री  ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।

बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिश्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जनाएको छ ।

साढे १० बजे प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिश्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिश्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्।

त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रीबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ । 

भदौ ३१ र असोज १ गते गरी दुई दिन भ्रमण गर्ने यसअघि नै तय भएको हो तर छोटो समय भएको भन्दै भारतको तर्फबाट नै भ्रमण लम्ब्याउने तयारी रहेको बताइएको छ । त्यसमा पनि आज छलफल हुने बताइएको छ ।

भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने भएका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह