नेता कार्यकर्तालाई दक्ष बनाउन बाँके कांग्रेसले दिंदै प्रशिक्षण

शनिबार, साउन ३१, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्ष दिन लागेको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पार्टीको प्रशिक्षण शाखाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण दिन लागेको हो ।

काँग्रेस बाँकेको प्रशिक्षण शाखा प्रमुख एवम् पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले यही भाद्र १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र १४ गते निर्वाचन क्षेत्र नम्बर ३ को बैजनाथ गाउँपालिका, भाद्र १५ गते निर्वाचन क्षेत्र नम्बर २ को डुडुवा गाउँपालिका र भाद्र १६ गते निर्वाचन क्षेत्र नम्बर १ को कोहलपुरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

प्रशिक्षणमा लोकतान्त्रिक समाजवाद, नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा, ⁠नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास, ⁠सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति, ⁠नेपाली कांग्रेसको आदर्श तथा सिद्धान्त, नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका, ⁠संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयबस्तुमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका विज्ञले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा जिल्ला कार्यसमितिका सदस्य, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश प्रतिनिधि, प्रदेश सभा (१) र (२) का कार्यसमितिका पदाधिकारी, पालिकाभित्रका वडा सभापति, पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण गरिने शाखा प्रमुख अधिकारीले बताए ।उनका अनुसार प्रशिक्षण तयारीका लागि शाखाका पदाधिकारीलाई कार्य विभाजन तथा जिम्मेवारी प्रदान गरी आवश्यक तयारी शुरु भएको छ ।

काँग्रेस बाँके प्रशिक्षण शाखाले नियमित रुपमा विभिन्न तहका आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिँदै आएको जनाएको छ। 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्