प्याब्सन बाँकेले आज पनि जिल्लाका विभिन्न निकायमा ज्ञापत्रपत्र बुझायो

शुक्रबार, साउन ३०, २०८२

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले  आज शुक्रबार पनि जिल्लाका विभिन्न निकायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्याब्सन बाँकेले पनि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 'विद्यालय शिक्षा विधेयक' सच्याउन ध्यानाकर्षण गराउँदै विहिबार देशभरका स्थानीय सरकारका प्रमुख एवम् शिक्षा महाशाखा एवम् शाखालाई समेत ज्ञापनपत्र बुझाएको प्याब्सनले आन्दोलनका कार्यक्रम अन्तर्गत आज पनि विभिन्न निकायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

बाँकेमा अध्यक्ष विकास बज्राचार्यको अगुवाईमा गएको प्याब्सन टोलीले ज्ञापनपत्र बुझाएको कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला समन्वयमा उपप्रमुख सीता कार्की तथा शिक्षा विकास तथा समन्वयमा कार्यालय प्रमुख धनसुदन चौलागाईलाई ज्ञापनपत्र बुझाइएको हो । शिक्षा विकास तथा समन्वय इकाईमा प्याब्सन जिल्ला अध्यक्ष बज्राचार्य, जिल्ला प्रशासन कार्यालयमा प्रमुख सल्लाहकार यम बहादुर रावत र जिससमा उपाध्यक्ष महेन्द्र शर्माले प्याब्सन आन्दोलित हुनुको कारणबारे बोलेका थिए । 

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । 

चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, साउन ३० गते जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाउने तथा दिउँसो २ः३० बजे राष्ट्रिय परिचर्चा आयोजना गर्ने, भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बस्ने र भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने उल्लेख छ ।

प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह