सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका बरिष्ठतम् न्यायाधीश चन्द्रबहादुर सारुले न्याय कहिल्यै नमर्ने बताएका छन् ।
नेपाल कानुन ब्यवसायी परिषदको ३२औं स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा उच्च अदालत बार एशोसिएसन र जिल्ला बारको व्यवस्थापनमा परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बरिष्ठतम् न्यायाधीश सारुले जुनसुकै पक्षले मुद्दा जिते पनि न्याय भने कहिल्यै नमर्ने बताएका हुन्। 'मुद्दा एउटा पक्षले जित्ला, अर्को पक्षले हार्ला, पक्ष विशेषको हार जित भएको देखिए पनि सारमा न्यायले जितेको हुन्छ,'उनले भने ।
न्याय निरुपणमा सरोकारवाला पक्षहरु सबै गम्भीर ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले न्यायको वास्तविक अनुभूति गराउने विषयमा चुक्न नहुने बताए । नेपाल कानुन ब्यवसायी परिषद कानुन ब्यवसायीहरुको उत्पादन थलो भएको भन्दै बरिष्ठतम् न्यायाधीश सारुले न्यायाधीश र कानुन ब्यवसायीहरुको कर्म न्याय दिलाउनु रहेको बताए ।
नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद अधिबक्ता ईश्वरीप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिबक्ता भोलासिंह हमाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका कानुन संकाय प्रमुख निरञ्जन ज्ञवाली, नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, उच्च सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिबक्ता यदुराज शर्मा, बर्दिया जिल्ला बारका अध्यक्ष खडानन्द तिवारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल कानुन ब्यवसायी परिषद पूर्व पार्षद अधिवक्ता बीरबहादुर रोकाय, नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिबक्ता प्रल्हादबहादुर कार्की, इन्सेकका लुम्बिनी प्रमुख भोला महत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषदका लुम्बिनी पार्षद अधिबक्ता ज्ञवालीले परिषदले हालसम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला बारका अध्यक्ष मेहरसिंह खत्रीले स्वागत मन्तब्य तथा उच्च बारका अध्यक्ष चित्रबहादुर शाहीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन बार सचिव अधिबक्ता गणेश राज शर्माले गरेका थिए ।
कार्यक्रममा उच्चका न्यायाधीशहरु सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी र बसन्तराज पौडेल तथा जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, केशवराज चपाईं, वरिष्ठ अधिबक्ताहरु, अधिबक्ताहरु लगायत सरोकारवालाको उपस्थिति थियो । त्यस अवसरमा केक समेत काटिएको थियो ।