सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ गत साउन २० गते नेपाली कांग्रेस र नेकपा एमालेका ६४ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम उनले आज विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा ९एमाले० ले ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाका सबै सदस्यलाई आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
आजको प्रदेशसभा बैठक नयाँ भवनबाट सञ्चालन हुने भएको छ। ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि ५ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवनको सम्पूर्ण काम सकिएपछि आजदेखि यहाँबाट बैठक सञ्चालन गर्न लागिएको हो।