राप्ती नदीमा खतराको घण्टी बज्यो, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

मंगलबार, साउन २०, २०८२

बाँके । बाँकेको राप्ती नदीमा जलस्तरले खतराको तह पार गरेपछि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ। जल सतहले खतराको घण्टी बजाएपछि जोखिमयुक्त ठाँउहरुमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

Honor x5c

भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटिसकेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी गंगापुरका प्रमुख  इन्स्पेक्टर  सुरेन्द्र बहादुर भण्डारीको कमान्डमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली परिचलान गरिएको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

त्यसैगरी डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीको कम्दी पुल आसपास इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सई मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

त्यस क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान र सुरक्षित रहन इन्स्पेक्टर भण्डारीको टोलीले जानकारी  दिदै हिडेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।

राप्ती नदीको जलसतहले खतराको संकेत दिएपछि सशस्त्र प्रहरी नम्बर ४२  रिजर्भ गण सम्शेरगन्जमा विपद् व्यवस्थापनसहितको टोलीलाई तयारी हालत राखिएको छ भने उक्त गणबाट राप्ती नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क गराउदै पैदल गस्ती गरिरहेको बताइएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्