सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा 'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा बुधबार 'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकारको अभ्यास, संरक्षण र प्रबद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमिका हुने भन्दै मिडिया स्वतन्त्र भए मात्र मानव अधिकार बलियो हुने धारणा ब्यक्त गरिएको छ । मानव अधिकारको संरक्षणमा सञ्चार अनिवार्य साधन भएको बताउँदै सहभागीहरुले सञ्चार स्वतन्त्र, निष्पक्ष र उत्तरदायी भए मात्र लोकतन्त्र र मानव अधिकारको रक्षा सम्भब हुने बताए । यस्तै सामाजिक मुद्दाहरुलाई अधिकारकर्मीहरुले सशक्त ढंगले उठाउने र त्यसलाई सञ्चारले तार्किक निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुरुले लामो समयपछि अधिकारकर्मी र पत्रकारहरु औपचारिक रुपमा एकै थलोमा उपस्थित भई मन्थन गर्ने अवस्था बनेको बताउँदै यस्ता कार्यक्रमलाई नियमितरुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश अध्यक्ष चौलागाईले नागरिक अगुवा संगठनहरु सहकार्य र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै संगठित ढंगले अघि बढे सञ्चार र मानव अधिकारको अवस्थालाई प्रबद्र्धन गर्न टेवा पुग्ने बताए । उनले बाँकेमा लामो समयको अन्तरालमा सुखद सुरुवात भएको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिए । चौलागाईले सञ्चार र मानव अधिकार एक अर्काका परिपूरक भएको बताए ।
बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले अब संगठित ढंगले अघि बढ्न जरुरी रहेको बताउँदै सञ्चार र मानव अधिकारबीच गहिरो सम्बन्ध रहेको बताए। उनले सञ्चारकर्मी र मानव अधिकारकर्मी मिलेर मानव अधिकार संरक्षणमा लाग्नुपर्ने बताए। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले विभिन्न पेशागत र सामाजिक अगुवा संगठनबीचको विगतको समन्वय र सहकार्य कमजोर बनेकाले अब नयाँ ढंगले अघि बढ्न आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । मानव अधिकार संरक्षण र सम्बद्र्धनमा सञ्चार क्षेत्र अग्रपंक्तिको मानव अधिकार रक्षक भएको चर्चा गर्दै उनले सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दाहरुमा एकाकार हुन कार्यक्रमले प्रेरित गर्ने विश्वास ब्यक्त गरे ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले अब कम्तीमा दुई महिनामा एक पटक सामग्री (विषयबस्तु) र सन्दर्भमा आधारित छलफल, बैठक, अन्तरक्रिया आयोजना गर्न अगुवाई गर्ने उद्घोष गरे । उनले मानव अधिकारमैत्री वातावरण निर्माणका लागि फिल्ड मनिटरिंग (क्षेत्र निगरानी) मा सहकार्यात्मक समन्वय गर्ने पनि बताए । अध्यक्ष गिरीले अधिकारबादी, पेशागत संगठन र सञ्चार जगतले सामाजिक मुद्दाहरुलाई 'भाइब्रेन्ट' गर्न सके समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले त्यसका लागि अब छिट्टै नेटवर्क बनाएर अघि बढ्ने उद्घोष समेत गरे ।
त्यसक्रममा इन्सेकले सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधिमा मानव अधिकारको अवस्था चित्रित तथ्यांकीय विवरण पनि उपलब्ध गराएको थियो ।