'देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको अवस्था छ': सहमहामन्त्री राठौर

बुधबार, साउन १४, २०८२

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको टिप्पणी गरेका छन् ।

Honor x5c

बाँकेको खजुरामा आयोजित ‘सगरमाथा वृक्षारोपण महाअभियान कार्यक्रम’लाई सम्बोधन गर्दै राठौरले देशमा राजनीतिक दल, नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउँदै चारैतिर भ्रष्टाचार मौलाएको, बेथिति बढ्दै जाँदा पनि जनताले मौनता साँधेर बसेको टिप्पणी गरे । बजेट तथा कार्यक्रम छनोट गर्दा प्राथमिकताका आधारमा गरिनुपर्नेमा त्यसो नभएको उनको तर्क छ ।

काँग्रेस–एमालेको गठबन्धन सरकार भए पनि जनताको आवश्यकता, माग र मर्म बमोजिम काम नभएको उनले बताए ।

आफू बाँके र बर्दियाको नेता भएर यस क्षेत्रको विकासका लागि संघर्ष गरिरहेको बताउँदै सासंद राठौरले बाँके क्षेत्र नम्बर–३ मा २८ वर्षपछि काँग्रेसले जितेपछि मात्र यस क्षेत्रका जनताले देखिने गरी विकास र परिर्वतनको महसुस गर्न पाएको जिकिर गरे । राठौरले बाँकेलाई स्वास्थ्यको हब बनाउने गरी आफू अघि बढेको बताए । उनले बाँकेको भेरी अस्पताल, फत्तेबाल आँखा अस्पताल र खजुराको क्यान्सर अस्पतालको स्तर उन्नति, भौतिक तथा कर्मचारी व्यवस्थापन लगायतको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पश्चिम नेपालका तीन प्रदेशका जनता लाभान्वित भएको बताउँदै उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४० जिल्लाका नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी बाँकेलाई स्वास्थ्यको हब बनाउन सबै राजनीतिक दल, सम्बद्ध सरोकारवालालाई समेत आह्वान गरे ।

वृक्षारोपण अघि भएको उद्घाटन समारोहमा प्रखर मिसन नेपालका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपती, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष समर बहादुर खत्री लगायतले अस्पतालले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवाका चर्चा गरेका थिए । उनीहरुले अस्पताल भौतिक संरचना, कर्मचारी तथा प्रविधिको समस्याबाट गुज्रिरहेकोले यी समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रखर मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्वलन्त पौडेलले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । प्रखर मिसनका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्र्यक्रमको सञ्चालन सचिव विवेक लामिछानेले गरेका थिए ।

सो क्रममा प्रदेश सांसद सुशीला नेपाली बादी, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रखर मिसनका संस्थापक तथा पूर्व सदस्य एवम पदाधिकारी, विभिन्न राजनैतिक दलका नेता, विभिन्न वडाका जनप्रतिनिधि, क्यान्सर अस्पतालका चिकित्सक, कर्मचारी स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । प्रखर मिसन नेपाल खजुराको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा गरिएको वृक्षारोपणमा विभिन्न बोटविरुवा रोपिएको थियो । स्वास्थ्य मन्त्रालयले साउन १५ गतेसम्म देशभरी 'सगरमाथा वृक्षारोपण महाअभियान' कार्यक्रम सञ्चालन गरेको छ । त्यही अनुरुप वृक्षारोपण गरिएको हो। 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्