'भिजिट भिसामा मानव तस्करी': सरकार उदासीन रहेको रास्वपा सांसद कठायतको आरोप

शुक्रबार, साउन ९, २०८२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले भिजिट भिसाको नाममा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कठायतले सरकार र राज्यसंयन्त्रले नागरिकप्रति जवाफदेही हुने संवेदनशीलता गुमाएको टिप्पणी गरिन्। उनले मानव तस्करी जस्तो अन्तर्राष्ट्रिय अपराधलाई टालटुले समितिमार्फत दबाउन खोजिएको भन्दै आपत्ति जनाइन्। सांसद कठायतले भिजिट भिसा प्रकरणमा गठन गरिएको छानबिन समिति झारा टार्ने प्रयास मात्र भएको आरोप लगाउँदै न्यायिक आयोग वा संसदीय विशेष समिति गठन गर्न माग गरिन्।

कठायतले भनिन्,-'यस देशमा कानुन, न्याय, जवाफदेहीता र संवेदना के मरेर गएको हो तरु भिजिट भिसाको आवरणमा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयदेखि संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासीन छ।'

उनले मुद्दाको गम्भीरतालाई नजरअन्दाज गर्दै यसलाई 'डिसमिस' पार्नका लागि एउटा टालटुले समिति बनाएर झारा टार्न खोजिएको आरोप लगाइन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यो समितिलाई अस्वीकार गर्दै न्यायिक आयोग वा संसदीय समिति नै माग गरेको उनको भनाइ छ। कठायतले मानव तस्करी जस्तो अन्तर्राष्ट्रिय अपराधमा संयुक्त राष्ट्र संघ मात्र होइन, मित्र राष्ट्रको पनि चासो बढेको र छिमेकी भारतका मिडियामा समेत यो विषयले प्रवेश पाएको बताइन्।

उनले दुई वर्ष ‘कुलिङ पिरियड’ को प्रावधान एमालेले नमान्नुको कारण के हो भन्दै प्रश्न समेत गरेकी छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्