सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई 'पुरानो र मूल्यहीन' भन्ने स्थापित हुँदै गएको भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
महामन्त्री थापाले अहिले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै ुपुरानो, थोत्रो, खराब र मूल्यहीनु भन्ने कुरालाई चिर्नु रहेको बताए। समाजमा जबरजस्ती स्थापित गर्न खोजिएको यो नकारात्मक भाष्यबाट बाहिर निस्कनु जरुरी रहेको उनको भनाइ छ। थापाले कांग्रेस पुरानो हुनुमा आफूलाई गौरव रहेको बताउँदै, यसै पुरानो पार्टीले देशमा थुप्रै परिवर्तन र योगदान गरेको स्मरण गराए। सँगसँगै, नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि कांग्रेस तयार रहेको उनले बताए।
थापाले भने, 'हामीलाई पुरानो भएकोमा गौरव छ। हामीलाई आफ्ना धेरै परम्पराहरूमा गौरव छ। यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली कांग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ। तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौँ। सुन्न पनि तयार छौँ। ग्रहण गर्न पनि तयार छौँ। आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौँ। पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौँ, नयाँ कुरा थप्दै जान्छौँ। नयाँ ज्ञानको खोजि गर्दछौँ, नयाँ नयाँ ढङ्गले विवेचना, मिमांसा गर्दछौँ। आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्छौं, २००७, २०४६, २०६२ को चर्चा गर्दछौँ, त्यो आन्दोलनको चश्माले पनि हेर्दछौँ। सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौँ र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौँ भन्ने कांग्रेस बनाउनुपर्छ।'
महामन्त्री थापाले कांग्रेसमा थप बहस, छलफल र पठनपाठनको संस्कृति आवश्यक रहेकोमा जोड दिए। यसले पार्टीलाई समसामयिक बनाउन र नयाँ चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने उनको विश्वास छ।