नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पदभार ग्रहण

बुधबार, असार ३२, २०८२

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छिन् । आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्र न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा आएर पदभार ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ दिलाएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।  सपथपछि मन्त्री न्यौपानेले पदभार गरेकी हुन् ।

भ्रष्टाचारको अडिओ काण्ड बाहिर आएपछि चौतर्फी दबाबपछि निवर्तमान मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै उनको ठाउँमा प्रधानमन्त्री ओलीले न्यौपानेलाई ल्याएका हुन् । 

यसअघि उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभामा सचेतकको भूमिकामा थिइन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहालीसमेत गरेकी छिन् । 

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह