सामान्य प्रशासन मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

मंगलबार, असार ३१, २०८२

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

महामन्त्री थापाले मन्त्री गुप्ताले आफूले गल्ती नगरेको भन्ने आँट पनि नदेखाएको भन्दै अनुसन्धानको बाटो सहज बनाउन तत्काल बर्खास्त गर्नुपर्ने बताए।

थापाले भने, 'आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। त्यसलाई लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो। त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन। तर टिप्पणी गर्नुपर्ने अवस्था आयो।' उनले प्रधानमन्त्रीसँग ’तत्काल मन्त्रीलाई बर्खास्त गर्न’ र ’छानबिनलाई सहज बनाउन’ अनुरोध गरे। बर्खास्त गरेर मात्रै नहुने भन्दै यस विषयको ’दूधको दूध र पानीको पानी’ हुनुपर्ने तथा दोषीउपर कारबाही हुनुपर्ने थापाको माग छ। उनले कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पारे।

यसैगरी, महामन्त्री थापाले पार्टीले नेताहरूमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन्। सोही कार्यक्रममा बोल्दै उनले आफू यस विषयमा सभापति शेरबहादुर देउवासँग कुरा गर्ने र पार्टीलाई वृहत् एकताबद्ध बनाउन लाग्ने बताए।

थापाले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै ’कोतपर्व’ जस्तै अनुशासन पर्व चलाइनु गलत भएको टिप्पणी गरे। उनले भने, 'यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसाबले पनि सही छैन। यसले पार्टीलाई थप कमजोर बनाउँछ।'

उनले थपे, 'यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्व जस्तै अनुशासन पर्व चल्यो। न यो समयको हिसाबले ठीक हो, न यो पार्टीको परम्पराको हिसाबले ठीक हो। न पार्टीको कानूनको हिसाबले, विधानको हिसाबले ठीक छ। यस हिसाबले पार्टीलाई थप कमजोर बनाउँछ।' महामन्त्री थापाले पार्टीका संगठनहरू चलायमान बनाउनमा ध्यान दिन जरुरी रहेको बताए।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्