नेपालगञ्जमा पहिलोपटक सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया

शुक्रबार, असार २७, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा अन्तरक्रिया बिहीबार कार्यक्रम सम्पन्न भएको हो । सञ्चारकर्मीहरुसंग यस प्रकारको अन्तरक्रिया जिल्लामै पहिलोपटक आयोजना गरिएको हो । 

Honor x7 pad

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख पूर्ण प्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरुमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे। उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरु प्रतिबद्ध रहेको समेत बताए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले कर सम्बन्धि सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने चेतना फैलाउन, कर सम्बन्धि शिक्षा र सचेतना अभिबृद्धि गर्न सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले आन्तरिक राजश्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे । 

आन्तरिक राजश्व कार्यालय बाँकेका कर अधिकृत तथा सूचना अधिकारी किरण डाँगीले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, कर सम्बन्धि नयाँ स्किम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा पत्रकारहरुले विभिन्न जिज्ञासासंगै सुझाब एवम् पृष्ठपोषण दिएका थिए । पत्रकारहरुको जिज्ञासालाई कार्यालय प्रमुख न्यौपानेले सम्बोधन गरेका थिए ।  कार्यक्रममा करीब ६० जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्