लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री पार्टीबाट निष्कासित

बुधबार, असार २५, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश नेपाली कांग्रेस महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासन भएका छन् । महामन्त्री खनाललाई १ वर्षका लागि पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।

खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको कारण देखाइएको छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ ।

नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन् । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र केन्द्रीय सदस्य चौधरीबीच जुहारी समेत चलेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्