सांसदहरूद्वारा रसुवा बाढीपीडितको उद्धार र राहतमा ढिलाइ नगर्न सरकारलाई ध्यानाकर्षण

मंगलबार, असार २४, २०८२

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रसुवामा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षतिको दुःख व्यक्त गर्दै उद्धार र राहत सामग्री वितरणमा ढिलाइ नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनीहरूले आकस्मिक समयमा बोल्दै विपद् जोखिम न्यूनीकरणमा सरकार पर्याप्त तयारीका साथ लाग्नुपर्नेमा जोड दिएका छन्।

सांसदहरू विश्वप्रकाश शर्मा, देवेन्द्र पौडेल, अर्जुननरसिंह केसी, ईश्वरबहादुर रिजाल, विमला सुवेदी, प्रकाशशरण महत, सीता मिजार र डा। अमरेशकुमार सिंहले रसुवामा बाढीमा परेकाहरूको उद्धारमा विलम्ब नगर्न सरकारलाई आग्रह गरे।

यसैगरी, सांसदहरूले विभिन्न जनसरोकारका मुद्दामा पनि सरकारको ध्यानाकर्षण गराए। सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरूले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मर्कामा परेको भन्दै यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकाल्नुपर्ने बताए।

मधेस प्रदेशमा खानेपानीको हाहाकार रहेको भन्दै सांसदहरू प्रभु हजारा, प्रभु साह र दिनेशकुमार यादवले तत्काल खानेपानी उपलब्ध गराउन माग गरे। सांसद दिनेशकुमार यादवले सप्तरीमा खानेपानीको समस्यासँगै मल र खादको अभाव रहेको भन्दै समस्या सम्बोधन गर्न आग्रह गरे।

उखु किसानहरूले अनुदान नपाउँदा उद्योगहरू बन्द हुने स्थितिमा पुगेको भन्दै सांसद हरिप्रसाद उप्रेतीले किसानले बेचेको उखुको पैसा र अनुदान पाउनुपर्ने माग गरे। यसका साथै, सांसदहरू धनबहादुर बुढा, कान्तिका सेजुवाल र सम्झना थपलियाले पनि विभिन्न समसामयिक विषयमा संसद्मा आफ्ना मागहरू राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्