कांग्रेस नेता गिरीले भने-पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ

शुक्रबार, असार २०, २०८२

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै गिरीले त्यस्ता ब्यक्तिहरुले चुरिफुरि देखाउँदै भाषण फलाक्दै हिँडेको टिप्पणी गरे । 'पार्टीमा सबैको लगानी हुन्छ । कसैको जिन्दगी र जवानीको लगानी हुन्छ । कतिले आर्थिक सहयोग गर्लान् । महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, गौरी दिदी जस्ता युगीन व्यक्तित्वहरूले नेपाली काँग्रेसलाई गर्नुभएको आर्थिक सहयोग, चन्दाको श्रेय लिन कहिल्यै पनि खोज्नुभएन,' गिरीले भने-'तर, नेपाली काँग्रेसमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको र भाषण धेरै फलाकेको देखिन्छ।'

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका उद्योगपति विनोद चौधरीले जारी केन्द्रीय कार्यसमिति बैठकमा बरिष्ठ नेता डा. शेखर कोइरालालाई संकिर्ण सोच भएको नेता भन्दै आफ्नो धारणा राखेपछि गिरीले चौधरीको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् । त्यस अघि डा. कोइरालाले विधान बमोजिम योग्यता नपुगेका चौधरीलाई किन केन्द्रीय सदस्य बनाएको भन्दै सभापति शेर बहादर देउबालाई प्रश्न गरेका थिए । 

यसैगरी गिरीले चुनावको निहुँ झिकेर गुट र झण्डको नाममा नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्दा पार्टी कमजोर हुने जिकिर गरे । उनले निर्वाचन सकिएको ३र४ बर्षपछि पनि अनुशासनको कारबाही गर्न थालियो भने पार्टीमा विग्रह आउने जिकिर गरेका हुन् । गिरीले बैठकमा बोल्दै भने, 'नेपाली कांग्रेस पार्टी यो देशको ऐतिहासिक डेमोक्रेटिक पार्टी हो। डेमोक्रेसीमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टीहरूको सम्मान हुन्छ । पार्टीभित्रको अनुशासनको कारबाही ३र४ महिनाभित्र हुन्छ । आजको २१ औं शताब्दीमा पनि अनुशासनको नाममा ३र४ वर्षसम्म पनि अनुशासनका नाममा कारबाही गर्न थालियो भने पार्टी कमजोर हुन्छ । गुट र झुण्डको नाममा कारबाही गर्न थालियो भने पार्टी कमजोर हुन्छ ।'

उनले थपे, 'चुनावमा किसुनजीलाई ठूलो बज्रपात परेको थियो तर किसुजीले आम माफी दिनुभयो। त्यसो हुनाले सन्त नेता श्रद्धेय किसुनजीले नेपाली कांग्रेसका नेता, कार्यकर्ताले गरेका विगतका गल्तीहरूलाई विसर्जन गर्नुपर्छ भन्नु भए झै विगतमा भएका सानातिना कमीकमजोरीहरूलाई सुधार्ने मौका दिएर आममाफी गर्नुपर्छ भन्ने मेरो राय हो ।' गिरीको यो भनाई डा। शेखरसंग मिल्दो छ ।

गिरीले मुलुकमा राजनीतिक अवस्था तरल रहेको भन्दै ठूलो र इतिहास बोकेको दल कांग्रेस सरकारमा भएकाले सबैसंग सहमति र सहकार्य गर्न अपरिहार्य रहेको बताए । उनले पार्टीमा धेरै षड्यन्त्रका तानाबाना भइरहेको भन्दै विशेषगरी महामन्त्रीहरु यसमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २३:१०
प्रतिक्रिया दिनुहोस्