सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि भएको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
सांसदहरूले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्न सक्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न उठाएका थिए। जवाफमा मन्त्री पाण्डेले ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे।
उनले भने, 'हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो। ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ। ग्राउन्ड ह्यान्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ। जस्तो हाम्रो यहीँ टिआइएमा ९५ लाख लगभग ओहोरदोहोर भयो, यात्रुहरू। ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले आफ्नो मात्रै होइन, हिमालयनदेखि अधिकांशका गर्नुपर्छ।'
मन्त्री पाण्डेले सरकारी काम र गैरसरकारी वा निजी काममा फरक रहेको उल्लेख गर्दै सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको बताए। उनले कमभन्दा कम जनशक्तिले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिएको भन्दै यो सुशासनकै पाटो भएको र यसमा सुधार गर्नुपर्ने बताए।
उनले कर्मचारीको सेवा, सर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको र आवश्यकताभन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको पनि जानकारी दिए।