सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा ‘विश्वासघात’ भएको भन्दै दोषीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो धारणा व्यक्त गरेका हुन्।
डा.महतले ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्ने कांग्रेसको धारणा रहेको र सोहीअनुसार समितिबाट सर्वसम्मतिले पारित भएको बताए। उनले समितिको विश्वासमा माननीय सदस्यहरूले पूर्ण विधेयक दफावार रूपमा नपढेको अवस्थामा ‘विश्वासघात’ भएको टिप्पणी गरे।
'कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो। त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो,'महतले भने, 'त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नुभएन। विश्वासघात भयो। जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ।'
कांग्रेसले तत्काल 'कुलिङ पिरियड' हटाएर प्रस्तावित भएको प्रावधानलाई सरकारले सच्याएर संशोधन गर्नुपर्ने माग गरेको छ। साथै, दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ।