सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) द्वारा बाँकेमा सञ्चालित बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा गरिएको छ । नेपालगन्जमा आज आयोजना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा कार्यक्रमको समिक्षा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको बैठकमा सहभागी सरोकारवालाहरुले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पारेको बताए । उनीहरुले जोखिममा परेका बालिकाहरुलाई प्राप्त शैक्षिक सामग्री सहयोगले वेचविखन, बालविवाह, बालश्रम शोषणबाट जोगाउने काम गरेको भन्दै कार्यक्रम निरन्तरताको सुझाव समेत दिए ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले स्वास्थ्य तथा शिक्षा विकास केन्द्रसँगको सहकार्यमा बाँकेका ५ वटा पालिका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २४ वटा विद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । एसजिटी कार्यक्रम अन्तर्गत ती विद्यालयका ५३८ जना र अमर कार्यक्रम अन्तर्गत ११ देखि १२ कक्षाका ९४ जना बालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै आएको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका लुम्विनी प्रदेश संयोजक आयुस ढकालले जानकारी दिए ।
लक्षित वर्गका बालिकाहरुलाई वेचविखनको जोखिमबाट बचाउन शैक्षिक सामग्री सहयोगसँगै विभिन्न सचेतीकरणका कार्यक्रमहरु गर्दै आएको स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेका व्यवस्थापक गणेश भट्टराईले जानकारी दिए ।