सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि बस्ने भएको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको छलफलका एजेण्डा तय गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, केन्द्रीय समिति बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ। मुख्यतया, समसामयिक राजनीतिक विषयहरूको समीक्षा गरिनेछ।
बैठकमा भ्रातृ संगठनहरूको समयसीमा थप्ने बारे पनि छलफल गरी निर्णय लिइनेछ। केही भ्रातृ संगठनका अधिवेशन सकिएका र केहीले काम गर्न बाँकी रहेकाले उनीहरूको आवश्यकताका आधारमा समय दिनेबारे विचार गरिने महतले बताए।
यसका साथै, विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई कसरी थप मजबुत बनाउने र पार्टीका विचारहरूलाई अन्तर्राष्ट्रियस्तरमा कसरी पुर्याउने भन्ने विषयमा पनि छलफल हुनेछ।
हालै प्रस्तुत भएका प्रदेश र केन्द्रको बजेटका बारेमा पनि बैठकमा समीक्षा गरिनेछ। यसका लागि पार्टीबाट प्रदेशमा रहेका मुख्यमन्त्रीहरूलाई समेत बोलाएर छलफल गरिने बताइएको छ। केन्द्रीय समितिले सरकारको कार्यसम्पादन, विशेषगरी प्रदेश र केन्द्रमा सरकार कसरी चलिरहेको छ भन्नेबारे पनि समीक्षा गर्नेछ।
त्यसैगरी, पार्टीको क्रियाशील सदस्यताको स्थिति र सञ्चालित सय दिने संगठनात्मक अभियानको प्रगतिबारे पनि छलफल हुनेछ।
प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने धारणा व्यक्त गर्दै पुनः सक्रिय राजनीतिमा आउनु उचित नहुने बताए। उनले नेपाली कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी पनि गरे।