प्रधानमन्त्री ओली नेतृत्वको टोली स्पेन प्रस्थान

शनिबार, असार १४, २०८२

काठमाडौँ । स्पेनको सेभिया सहरमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ  स्पेन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली २९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका हुन्।

Honor x5c

त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे लगायतले बिदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

संयुक्त राष्ट्रसंघको संयोजनमा असार १६ देखि १९ गतेसम्म  हुने सम्मेलनमा विकासशील मुलुकका आर्थिक तथा वित्तीय चुनौती, लगानीको सम्भावना, दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापनजस्ता विषयमा छलफल हुनेछ। नेपालले सम्मेलनमा विकास साझेदारहरूसँग सहकार्य र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा लिएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा स्पेनका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता, नेपाली प्रवासी समुदायसँगको भेटघाट तथा नेपालको लगानी अवसरबारे प्रवर्द्धनात्मक कार्यक्रमहरू पनि तय गरिएका छन् ।  भ्रमण सकेर प्रधानमन्त्री ओली असार २० गते नेपाल फर्कने कार्यक्रम छ।

 

 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्