सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीको आन्तरिक संरचना र नेतृत्व प्रणालीमा भइरहेका लगातारका राजनीतिक हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सिंहदरबारमा आज “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
सांसद थानीले विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी संगठनको 'चेन अफ कमाण्ड'लाई नै कमजोर बनाएको तर्क गरे। उनले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर महानिरीक्षक (आईजीपी) लाई हटाउने काम गरिएकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर दुई पटक आईजीपी बनेको इतिहाससमेत रहेको स्मरण गराए।
उनले भने, 'हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ। यस कारण पनि नेपाल प्रहरीको पोजिसनलाई विभिन्न तरिकाले भत्काउने कामहरू हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था पनि छ।'
कनिष्ठलाई एक महिनाअघि एआईजी बनाएर आईजीपी बनाएकोदेखि, पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आईजीपी बनाउँदै अदालतसम्म पुर्याएको इतिहाससमेत रहेको उनले जिकिर गरे।
सांसद थानीले राजनीतिक हस्तक्षेपका बीच कमाण्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहित सबैको ध्यान जानुपर्नेमा जोड दिए। उनले भने, 'यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान जाओस्। यसरी कमाण्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने संगठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउलारु त्यसैले अहिलेको अवस्थामा चेन अफ कमाण्ड प्रभावित भएको अवस्था छ।'