गृहमन्त्री राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनमा रास्वपाको अडान कायमै

सोमबार, असार २, २०८२
Rojgaar shaakhaa

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने र गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग दोहोर्‍याएका छन्। जनतालाई 'शिकार' बनाएर राज्यका संरचना बनाइएको भन्दै उनले यस विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै परियारले राज्य जनताका लागि हो कि दुःख दिनका लागि भन्ने प्रश्न गरे। नेपालीलाई स्वदेशमा रोजगारी, खाना र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जनका लागि विदेश जानेहरूमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने उनले बताए।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन कार्यालयको विषयमा उठेका प्रश्नहरूको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर बैठक चलाइएको भन्दै परियारले आपत्ति व्यक्त गरे। उनले भने, 'जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहनुभएको छ। रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ। सम्मानित सदनबाट, भन्न चाहन्छु, यो राज्य कसको लागि बनाएका छौँ? जनतालाई दुःख दिन बनाएका हौँ ? या जनताका लागि यो राज्य बनाएका हौँ?

परियारले थपे, 'तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खान लाउन र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जाने महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको संरचना जवाफदेही हुनुपर्छ कि पर्दैन? गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ, हामीले त्यसको जवाफ माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा पनि यो सदन चलाउने? यो हुन सक्दैन। छानबिन समिति चाहिन्छ।'

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन्। आजको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्। यद्यपि, रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसदलाई अगाडि बढाएका छन्।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्