प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक, महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल

सोमबार, जेठ २६, २०८२
Rojgaar shaakhaa

काठमाडौँ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको कार्यसूची

दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक सुरु हुनेछ। यस बैठकमा राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी सन्देश सभासमक्ष टेबुल गर्नेछन्। त्यसलगत्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश छ।

प्रतिनिधि सभाको कार्यसूची

दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नेछन्।

बैठकको महत्त्वपूर्ण कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यससँगै प्रतिनिधि सभामा आगामी बजेटमाथिको छलफल औपचारिक रूपमा सुरु हुनेछ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्