माधव नेपालसहित ९३ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

बिहीबार, जेठ २२, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । 

प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । उनीमाथि अख्तियारले बयान लिएको थियो । 

योसँगै उनको सांसद पद निलम्बनमा परेको छ । माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिनेछ ।

त्यसपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन् । सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस्नेछन् ।

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसूरमा नेपालविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन भएको हो ।

यस सम्बन्धी व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा छ । जहाँ भनिएको छ, ‘‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्