सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा राजाहरुको चरित्र कहिल्यै पनि संवैधानिक बन्न नसकेको तीतो इतिहास साक्षी रहेको बताए । उनले प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई वटा मात्र विकल्प रहेको बताउँदै नौजवानहरुलाई राजसंस्था इतिहासमा कहिल्यै पनि संवैधानिक बन्न नसकेको बुझाउन जरुरी रहेको उल्लेख गरे ।
महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी कांग्रेस अघि बढ्न दृढ रहेको बताए। 'बेला-बेलामा राष्ट्रिय शक्तिको भूमिका कांग्रेसले कुशलतापूर्वक निभाएको छ, त्यो पुष्टि भइसकेको छ,' महामन्त्री थापाले भने-'देशमा अहिले उकुसमुकुसको अवस्था छ, यसबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी पनि कांग्रेसको हो । उत्तेजना फैलाउने काम भइरहेको छ, तर कांग्रेस यही व्यवस्थालाई सुदृढ बनाएर अगाडि बढाउन दृढ छ ।'
थापाले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताए । 'भुइँ तहमा बसेर काम गर्ने कार्यकर्ता पंक्ति पार्टीको सबैभन्दा ठूलो तागत हो, हामी सबैको हैसियत एउटै हो, सबै मिलेर पार्टी बनाउनुपर्दछ,' उनले भने । उनले कुनै कारणले पार्टी छोडेर गएकाहरुलाई पुनः कांग्रेसमा फर्केर आउन आह्वान समेत गरेका छन्।
महामन्त्री थापाले चुनाव अघि र पछिको दुबै गठबन्धन नेपालमा नचलेको बताउँदै अब संविधान संशोधन गर्दा यो कुरालाई हेक्का राख्न जरुरी रहेको उल्लेख गरे । कांग्रेस-एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै उनले त्यो वाचा विर्सिन नहुनेमा जोड दिए । थापाले अबको दशक 'विकास, उत्पादन र रोजगारी' को दशक हुनुपर्ने बताए । उनले कांग्रेसले भ्रष्टाचारमा मुछिएको कसैलाई पनि बचाउन नलाग्ने स्पष्ट समेत पारे ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति ९क० र (ख) क्षेत्र नम्बर २ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, प्रदेश सभा ९क० का सभापति ज्ञानेन्द्र कुमार चौधरीले, ९ख० का सचिव रोशन कुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र ९ख० का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गरेका थिए । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गरेका थिए ।
यसैबीच वि.सं. २०७९ को निर्वाचन अघि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय नेताद्वय चन्तराम थारु र लक्ष्मण थारु पुनः कांग्रेसमा फर्किएका छन् । महामन्त्री थापाले दुबै जनालाई पार्टी प्रवेश गराएका हुन् । चन्तराम नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष र लक्ष्मण उपाध्यक्ष थिए ।
त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरेका थिए । सम्मेलनमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको नि:शिल्क चेकचाँच गरेको थियो । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।