'गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ'

मंगलबार, जेठ २०, २०८२

काठमाडौं । राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन्।

आज राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, सालिन र कानुन बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिन्। उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि भ्रष्टाचारलाई पक्षपोषण गरेको गम्भीर आरोप लगाइन्। यसका लागि उनले अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई आम नागरिकबाट दैनिक पचास लाखभन्दा बढी असुलेको आरोप लागेको, छानबिनमा तानिनु एक दिनअघि मन्त्रालय फिर्ता बोलाइएको र अख्तियारको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गरिएको जस्ता घटनाक्रमहरूलाई प्रमाणका रूपमा प्रस्तुत गरिन्।
सांसद बेलबासेले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने गरेको स्मरण गराउँदै अहिले आफैँमाथि लागेको आरोपको छानबिका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिइन्।

'गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दछु,' उनले भनिन्, 'प्रतिनिधिसभा अवरुद्ध छ। राष्ट्रियसभामा आफ्नो माग राख्दै सदन सुचारु गराउने हाम्रो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु।'

उनले जेठ १५ गते संसदमा बजेट पेस गर्ने संवैधानिक व्यवस्था भएकाले दुवै सदनको संयुक्त बैठक सम्पन्न भएर बजेट पेस भइसकेको र जनताको बजेट, देशको बजेट र कामलाई अवरुद्ध नगरौँ भन्ने हिसाबले प्रतिनिधिसभामा पनि प्रतिपक्षी दलले सदन खोलेर बजेट पेस भएको अवस्था रहेको बताइन्। तर, त्यसपछि सदन पुनः अवरुद्ध भएको उनको भनाइ छ।

'गृहमन्त्री लेखक बौद्धिक, सालिन, कानुन बुझेको मन्त्री हुनुहुन्छ। उहाँले बुझ्नुपर्छ, नैतिकताको आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा सोही पदमा बहाल भएर आउन सक्नुहुन्छ,' उनले भनिन्, 'त्यसैले सहयोगका लागि उहाँले राजीनामा दिनुपर्छ।'

सांसद बेलबासेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख बनाएर सहसचिव तीर्थराज भट्टराईलाई खटाएपछि भिजिट भिसामा जाने नागरिकबाट दैनिक पचास लाखभन्दा बढी असुलेको र 'सेटिङ' मा विदेश पठाएको स्वीकारोक्ति बयान रहेको बताइन्। उनले गृहमन्त्रीले भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु, छानबिनमा तानिनु एक दिनअघि मन्त्रालयमा फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गर्नु, छानबिनमा खटिएका अख्तियारमा कार्यरत डीआईजी हिमालकुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरी बिहान सरुवा गर्ने र दबाबका कारण बेलुका फिर्ता बोलाउनेजस्ता कामहरू भइरहेको आरोप लगाइन्।

'यो सरासर भ्रष्टाचार हो। निर्दोष नेपाली बेचिएका छन्,'पेटबोली' मा भ्रष्टाचार गर्न दिन्न वा गर्न दिन्छु जस्ता प्रश्न उब्जिएका छन्,' उनले भनिन्। गृहमन्त्रीको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पहिले नै भिजिट भिसा प्रकरणको कारबाहीमा परेका व्यक्ति रहेकाले उनलाई किन सचिवालयमा छानिएको भन्ने प्रश्न पनि बेलबासेले उठाइन्। उनले यी देखिएका घटनाक्रमले गृहमन्त्रीको सम्भवतः चलखेल र 'सेटिङ' रहेको प्रश्न उब्जाएको बताइन्।

सांसद बेलबासेले धेरै घटनामा धेरैले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने र मार्गप्रशस्त गर्नुपर्ने तथा न्यायिक समिति बन्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्