पुलको फलामका पार्टपुर्जा बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

मंगलबार, जेठ २०, २०८२

काठमाडौं । खोलाले बगाएको पुलको फलामका पार्टपुर्जा बेचेको आरोपमा प्रहरीले एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोककुमार गौतमलाई पक्की र झोलुङ्गे पुलका फलामका सामग्री बेचेको आरोपमा काभ्रे प्रहरीले पक्राउ गरेको हो।

Honor x5c

गत असोजमा रोशी गाउँपालिका-७ र नमोबुद्ध नगरपालिका-६ को सिमानामा रहेको पक्की र झोलुङ्गे पुललाई रोशी खोलाले बगाएको थियो। उक्त खोलाले बगाएको फलामका पार्टपुर्जाहरू प्रहरीले चोरी गरेको आरोपमा सुरुमा जेठ १२ गते ४ जनालाई पक्राउ गरेको थियो।

प्रहरीको अनुसन्धानमा वडाध्यक्ष गौतमको संलग्नता रहेको भेटिएपछि प्रहरीले सोमबार वडाध्यक्ष गौतमलाई पक्राउ गरेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार जेठ १२ गते ४ जनालाई २ वटा टिपरमा फलामका रडहरू लोड गर्दैगर्दा पक्राउ गरेको थियो। यस्तै, दुई जना टिपर चालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

पक्राउ पर्नेमा भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा  रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष गौतमले नमोबुद्द -६ को समेत समन्वयमा फलामका सामान उठाएको बयान दिएका छन् । प्रहरीले पक्राउ परेका गौतमसँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्