विकासका सन्दर्भमा नेपाली कांग्रेस पार्टी नेतृत्व र जनप्रतिनिधिबीच कोहलपुरमा संवाद

शनिबार, जेठ १७, २०८२

बाँके । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले आज 'विकास निर्माण सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद कार्यक्रम'  गरेको छ। 

कोहलपुर नगरपालिकामा आयोजित कार्यक्रममा कांग्रेसको  सांगठनिक संरचना अन्तर्गत केन्द्रिय  कार्यसमितिको सय दिने अभियान, जिल्लाको ४ महिने अभियान र क्षेत्रीय कार्यसमितिको “टोल टोलमा कांग्रेस अभियान" अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडामा झण्डै २ महिनासम्म सञ्चालन गरिएको अभियानका क्रममा उठेका समस्याहरूको समाधान तथा आगामी आ.व. २०८२/०८३ को बजेटमा सम्बोधनका लागि पालिका सम्वाद कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका  सभापति नारायण प्रसाद गौडेलले कांग्रेस निकटका जनप्रतिनिधिहरूको काम गर्ने शैलीले आम जनताको मन जित्न सफल भइरहेको दाबी गरेका छन्  । उनले जनप्रतिनिधिहरूले जनताको भावना बुझेर, सरल, जिम्मेवार र पारदर्शी ढंगले काम गर्दै आएका कारण कांग्रेसप्रति जनविश्वास थप बलियो बन्दै गएको बताए । 

उनले विकास निर्माणका नाममा अनावश्यक खर्च र स्रोतको दुरुपयोग गर्ने प्रवृत्तिले जनताको भरोसा गुमाउने भएकाले प्रत्येक योजना र बजेट खर्च पारदर्शी र परिणाममुखी बनाउनुपर्ने धारणा राखे । उनले पार्टी अनुशासन र नीति विपरीत हने कुनै पनि कामलाई  ठाउँ नदिने स्पष्ट पारेका छन्। गौडेलले  आ.व. २०८२/०८३ को बजेटमा जनताको माग र प्राथमिकतामा राखेर नगरपालिकाले बजेट सार्वजनिक गर्ने, सल्लाह सुझाव लिने र कार्यान्वयनको क्रममा समेत नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।

त्यसैगरी क्षेत्र नम्बर १का  क्षेत्रीय सभापति पोषण केसीले पालिकास्तरमा सञ्चालन हुने विकास निर्माणका योजना र कार्यक्रमहरू पार्टीको विचारधारा, नीति र सिद्धान्तसँग मेल खानेगरी सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए । केसीले पार्टीले अघि सारेको “राष्ट्रियता, लोकतन्त्र र समाजवाद" को मूल नारालाई व्यवहारमा उतार्नका लागि स्थानीय सरकार र पार्टी नेतृत्वबीच बलियो सहकार्य आवश्यक रहेको बताए । केसीले भने, “हाम्रो पार्टीको दर्शन जनतासँग प्रत्यक्ष जोडिएको छ ।

"त्यसैले विकास योजनाहरू बनाउँदा स्थानीय जनताको सरोकार र चाहना अनुसार नीति निर्माण र बजेट विनियोजन हुनु जरुरी छ। केवल शहरी सुन्दरताका नाममा सम्पन्न वर्गलाई मात्र लक्षित गरेर योजना बनाउने प्रवृत्ति अन्त्य गरेर गाउँ, टोल र सीमान्तकृत समुदायसम्म सेवा पु¥याउने खालका कार्यक्रम ल्याइनुपर्छ" नेता केसीले भने।

केसीले पछिल्लो जनप्रतिनिधिहरूले समय जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भान केही स्थानमा देखिएको उल्लेख गर्दै कांग्रेस नेतृत्वले विकासको हरेक पक्षमा गहिरो निगरानी र निर्देशन दिनुपर्ने आवश्यकता औंल्याए । “पार्टीको विचार र नीति अनुसार काम नगर्ने प्रवृत्ति नियन्त्रण नगर्ने हो भने जनतामा कांग्रेसप्रतिको विश्वास कमजोर बन्न सक्छ,” उनले भने ।

केसीले जनतासँगको सम्पर्क सशक्त बनाउन पार्टी नेतृत्व, वडास्तरीय समिति र जनप्रतिनिधिहरूबीच नियमित संवाद र अन्तरक्रिया आवश्यक रहेको बताए। उनले आगामी बजेट निर्माण प्रक्रियामा वडास्तरका योजना समिति, टोल विकास संस्था र

सर्वसाधारण नागरिकको सुझाव लिने व्यवस्था गरिनुपर्ने सुझाव समेत दिए । उनले पार्टी नेतृत्वले आफूलाई जनताप्रति जिम्मेवार ठान्दैनगरपालिकाभित्रका हरेक विकास निर्माणको निगरानी र मूल्यांकनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।“जनप्रतिनिधिले गरेका काम, योजना र बजेटको प्रभाव प्रत्यक्ष जनतासँग साक्षात्कार गरेर मात्र पार्टीले सही मूल्यांकन गर्न सक्छ,” केसीले भने ।

त्यस्तै कोहलपुर नगरपालिकाका मेयर  पूर्णप्रसाद आचार्यले कार्यक्रममा बोल्दै नगरको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले विकासको प्रक्रिया केवल नगर कार्यपालिकाको जिम्मेवारीमा सीमित नभई जनप्रतिनिधि, राजनीतिक दल,नागरिक समाज, कर्मचारी, सर्वसाधारण र सञ्चारकर्मीको संयुक्त प्रयासबाट मात्र सफल र दिगो बन्न सक्ने स्पष्ट पारे । आचार्यले भने, “हामी सबै मिलेर काम गर्छौं भने मात्रै नगरको  विकासले गति लिन्छ। जुनसुकै योजना होस्, त्यसलाई जनताको चाहना, कार्यकर्ताको सल्लाह र नीति नियामक निकायको समन्वयमा अगाडि बढाउँदा मात्र परिणाम देखिन्छ ן"

उनले पछिल्ला वर्षहरूमा नगरपालिकाले साना र ठूला योजनाहरू सञ्चालन गर्दा देखिएका समन्वय अभावका कारण कतिपय योजनामा चुनौती देखिएको उल्लेख गर्दै अब भने नगरपालिकाले समन्वयात्मक शैलीमा काम गर्ने नीति लिएको बताए।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे , कोहलपुर नगरपालिकाका उप मेयर संगीता पौडेल , कांग्रेस नेता हुर्मत न्यौपाने लगायतले आ-आफ्नो धारणा राखेका थिए।

क्षेत्रीय सभापति केसीको अध्यक्षता तथा पार्टी सभापति गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले पालिकाको विकासका सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित संवादको आवश्यकता औँल्याउँदै “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारालाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्