काठमाडौंमा एमाले र राप्रपाले आज प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ । आज गणतन्त्र दिवसको दिन काठमाडौँमा दुई विपरीत समूहले प्रदर्शन गर्दैछन्। जसका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एकतर्फ गणतन्त्रवादी नेकपा एमाले र अर्कोतर्फ राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति। आज दुई फरक राजनीतिक विचारका समूहहरू एकै दिन प्रदर्शनमा उत्रिने भएकाले सुरक्षा चासो बढेको छ। गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्न जिल्ला प्रशासन कार्यालय  काठमाडौं र सुरक्षा बललाई निर्देशन दिइसकेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै समूहलाई छुट्टाछुट्टै समय र स्थान उपलब्ध गराएको छ। एमालेलाई भृकुटीमण्डपमा बिहान साढे १० बजेदेखि सवा २ बजेसम्म कार्यक्रम सक्न अनुरोध गरिएको छ। त्यसपछि शान्ति वाटिका क्षेत्रमा राजावादी समूहलाई प्रदर्शनका लागि समय दिइएको छ।

एमालेले आज गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदैछ। यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका थिए, जसले सुरक्षा व्यवस्थामाथि चासो बढाएको छ।

अर्कोतर्फ, राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित आजदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन्। गत चैत १५ मा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा व्यवस्था सबै तरिकाले कडा पारिएको बताएका छन्। उनले कानुनअनुसार भएका गतिविधिमा सहयोग गर्ने र कानुन नमान्नेलाई कारबाही गर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुने र हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन्। प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गर्दै आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई सजग रहन निर्देशन दिएका छन्।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले आजको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ। 
आयोगले प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन गर्न विभिन्न टोलीहरू खटाउने पनि जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्