सगरमाथा सम्वादको सन्देशसहित सशस्त्रका असई दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण

आइतबार, जेठ ५, २०८२

काठमाडौं सगरमाथा सम्वादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन् । उनी संगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा  सगरमाथाको सफल आरोहण गरेका छन् ।

जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा सम्वाद कार्यक्रम मार्फत सगरमाथा सम्वादको सन्देशलाई विश्वमाझ प्रबद्र्धन  गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उनले सगरमाथा आरोहण गरेका हुन् ।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको थियो।
सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय  उच्च भुभाग बिपद् उपशाखामा  कार्यरत छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्