मन्त्री अधिकारीले भने-सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर असल सन्देश प्रवाह गर्नुस्

बुधबार, वैशाख ३१, २०८२
honor mob  winter sales

नेपालगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरु मर्यादित र ब्यवस्थित हुन आवश्यक रहेको बताएका छन् ।

प्रदेश स्तरीय बचत तथा ऋण सहकारी संस्था (साकोस) गोष्ठीलाई आज विहान नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय सबै सहकारी खराब छन् भन्ने भाष्य बनेकोले त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । 

वित्तीय अनुशासन कायम गर्दै गुमेको जनविश्वास फर्काउन सहकारीहरुले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा उनको जोड छ । देशको तीन खम्बे नीति अन्तर्गत सहकारी महत्वपूर्ण हिस्सा भएको भन्दै उनले समुन्नत समाज निर्माणमा सहकारीहरुले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले सहकारीहरुको अनुगमन गर्न बनेको सहकारी प्राधिकरणलाई प्रभावकारी ढंगले काम गर्ने गरी परिचालित गरिने बताए । 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून)द्वारा आयोजित गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता छ । उद्घाटन सत्र नेफ्स्कून केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन नेफ्स्कून बोर्ड सदस्य दिप्ती शाहीले गरेकी थिइन्। 

सहकारी संस्थाहरुको दिगो विकासका साथै साकोस अभियानलाई नयाँ उचाई प्रदान गर्ने अभिप्रायले गोष्ठी आयोजना गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बताए । सापकोटाका अनुसार गोेष्ठीमा सहकारी क्षेत्रका साझा चुनौती र सम्भावनाका विषयमा गहन छलफल र अन्तरक्रिया गरिनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्