प्रधानमन्त्रीले अस्ति भर्खर दाङ एअरपोर्ट बन्छ भनेको कुरा नाटकीय ढंगले नहराओस्: सांसद दीपक गिरी

संसद बैठकमै गिरीले पोखे आक्रोश
मंगलबार, वैशाख ३०, २०८२

काठमाडौँ । दाङको टरिगाउँ विमानस्थल राजनीतिक दलहरूले चुनाव जित्ने भर्‍याङको रूपमा मात्र प्रयोग भइरहेको  सांसद दीपक गिरीले आरोप लगाएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गिरीले आजको संसद बैठक बोल्दै टरिगाउँ विमानस्थललाई सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

सांसद गिरीले अगामी आर्थिक वर्षको बजेटमा टरिगाउँ विमानस्थलकि स्तरोन्नतिको लागि ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । गिरीले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका थियौं । तर, फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने पनि त्यो विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । ३ अर्ब ४२ करोड विनियोजन हुनुपर्‍यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद गिरीले आफूले सुरुदेखिनै  टरिगाउँ विमानस्थलको स्तरोन्नतिको लागि निरन्तर आवाज उठाउँदै आए पनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्