सीमामा सशस्त्र प्रहरीको उच्च सतर्कता, भारतीय एसएसबीसँगै संयुक्त गस्ती

बिहीबार, वैशाख २५, २०८२

काठमाडौं ।  पछिल्लो समय बिकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारयीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती  र खबर आदान–प्रदानलाई तिब्रता दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको समेत सशस्त्र प्रहरीले जनाएको छ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीलाई प्रधान कार्यालयबाट दिइएको विशेष निर्देशन पश्चात्  सबै जिल्लामा सुरक्षा योजना बनाएर कार्यान्वयन सुरु गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ भने  सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत सशस्त्र प्रहरी गरिरहेको बताइएको छ । त्यस्तै सशस्त्र प्रहरीले शहरी र ग्रामीण  क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्