अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन

बुधबार, वैशाख २४, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको बताए । 

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन भए पनि द्रुत गतिमा काम नगरेको उनको गुनासो छ । उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे । उनले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु(नचलाउनु भनी दबाब नआएको बताए । 

उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गरे । उनले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा नियन्त्रणमा कायापलट गरेको समेत दाबी गरे । भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईको भनाइ छ । 

उनले भने, ‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरमा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भरिहकै अवस्था हो । ठुला माछाहरूलाई लगेन भन्ने कुरा ५-१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौँ जस्तो लाग्छ । सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौँ। उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि। उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुपर्‍यो नि । तर उहाँहरु कोही नामसम्म लिन चाहनुहन्न । हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउन सक्ने अवस्था छैन । यसमा तपाईँहरूले सहयोग गर्नुपर्‍यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाए पनि काम भइरहेको छैन ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे । उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्