सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा सोमबार प्रचण्डले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गरे । उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए ।
उनले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाए । उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे । उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए ।
उनले भने, “यो दश महिनामा सरकार सुध्रिएन । सरकार सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएको नै थिएन । एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो । मैले त्यति बेला यो भनिरहेका सत्ता बहिर्गमनको छटपटी भनेर टिप्पणी पनि गरियो । तर अहिले त्यो तपाईँहरूको भाष्य बनिसकेको छ । सरकार सञ्चालनका संयन्त्रका सदस्यहरूले समेत प्रधानमन्त्रीको बेड रुमसम्मै को पुग्छन् भन्ने सार्वजनिक गरेबाट यो कुरा प्रस्ट भएको छ । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईँहरूले । दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।”