अवैध सामान बोकेको ट्रक लुम्बिनी प्रदेशबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

सोमबार, वैशाख २२, २०८२

पाल्पा। किराना सामानभित्र लुकाईछिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ।

रुपन्देहीको भैरहवाबाट म्याग्दितर्फ जाँदै गरेको लु १ ख ५४५३ नम्बरको ट्रक पाल्पाको तानसेन नगरपालिका–१ राईडाडा स्थित सिद्धार्थ राजमार्गबाट बैशाख गए गते राति  साढे १ बजे नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छ्न् भने ट्रकका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वर्षिय मिखिल पुनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.३५ गुल्म पाल्पाबाट खटिएको टोलीले बिलबिजक नभएको अबैध कपडा सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ । ट्रकमा रहेको  किराना तथा खाद्यान्न सामानको विलविजक भेटिएको छ भने लत्ताकपडाकोे विलविजक नभएको पाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

रुपन्देहको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतिक किराना स्टोरबाट सम्झाना ट्रेडर्स  म्याग्दी बेनीको नाममा बनाइएको बिलबिजक सहितको किराना सामानमा लुकाएर कपडा लैजान लागिएको बेला नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक  कारबाएएको लागि  लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्