सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले ३२औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर गरेको छ ।
न्यूरोडस्थित सेतु विक चोकदेखि प्रभातफेरी सुरु भएर बसपार्क नजिक रहेको महासंघको कार्यालयमा पुगेर समापन भएको थियो । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अगुवाईमा गरिएको प्रभातफेरीमा बाँकेमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात् महासंघको कार्यालयमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि आयोजना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगञ्जको सहयोगमा सञ्चालित शिविरमा पत्रकारहरुको किटमार्फत रगत र पिसाब परीक्षण गर्नुका साथै ब्लड प्रेसर जाँच गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक एवम् नसर्ने रोग फोकल पर्सन राजन शाहीको नेतृत्वमा हेल्थ असिस्टेन्ट सन्देश शाही, ल्याब टेक्निसियन गणेश थारु र अहेब शालिकराम कश्यपको टिमले चेकजाँच गरेको थियो । त्यस अवसरमा ५० जना पत्रकारहरुको स्वास्थ्य जाँच गरिएको छ । आज विश्वभर "नयाँ साहसिक संसारमा रिपोर्टिङः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव” भन्ने मूल नाराका साथ ३२औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।