सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले छिटो छिटो सत्ता समीकरण बदलिँदा मुलुक निर्माणमा समस्या देखिएको बताए । पोखरेलले जनताले जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने समय आएको जिकिर गरे ।
'जनताले अब साना साना दललाई मतदान गरेर जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने बेला भएको छ, बलिया राजनीतिक शक्तिलाई मतदान गरेर बलियो राजनीतिक शक्ति निर्माण गरी मुलुक निर्माण गर्ने अभियानमा साथ दिनुपर्दछ' महासचिव पोखरेलले भने-'हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा राजनीतिक स्थिरता छ, नरेन्द्र मोदीजी दुई पटक पूरा कार्यकाल ब्यतीत गरी तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ, हाम्रो देशमा जनमत विभाजित हुँदा समस्या भएको छ ।'
उनले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेको बताए । जनताका आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने उनको भनाई छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिहेको जनाउँदै सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुने गरी काम गरिरहेको बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री पदमा अर्याल, भानुभक्त ढकाल, प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, दिपा शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाई, प्रदेशसभाका सदस्य लगायत नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय नेताहरुले धारणा राखेका थिए । महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।