वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलीहरूको सरकार हो: प्रचण्ड

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलीहरूको सरकार भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार गैरजिम्मेबार र सुशासन विरोधी सरकार भएको आरोप लगाए । उनले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलीको हो भनेर स्वीकार गरिसकेको बताए । 

उनले अहिलेको सरकारले दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए । सडकमा लाखौँको सङ्ख्यामा शिक्षकहरूले आन्दोलन गरिरहँदा उनीहरूका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैरजिम्मेबार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको आरोप लगाए । 

प्रचण्डले भने, ‘अहिले जो सरकार चलिरहेको छ। त्यो सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलीहरूको सरकार हो । अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो भन्ने कुरा राम्रैसँग स्थापित भइसकेको छ । देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ । एकातिर सडकमा लाखौँको सङ्ख्यामा आन्दोलनरत शिक्षकहरू छन् । झन्डै अब एक महिना हुन लाग्दै छ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेबार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ ।’

प्रचण्डले शिक्षकहरूसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा माओवादी केन्द्र शिक्षकहरूसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्