भोलिदेखि नयाँ शैक्षिक सत्र, आन्दोलनले नैतिक दबाबमा शिक्षक र सरकार

सोमबार, वैशाख १, २०८२
honor २२ sept

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबीच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा शुरु भएको थियो । 

X7D

एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हडताल गरी आन्दोलनलाई थप तीव्रता दिएका छन् । सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन्।

संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

गत चैत्र २० गते भन्दाअघि नै विद्यालय तहका सबै प्रकारका वार्षिक परीक्षा सकिएकाले पठनपाठनमा असर नपुगे पनि भोलि (वैशाख २ गते) देखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएकाले शैक्षिक हड्तालले प्रत्यक्ष असर गर्ने देखिएको छ। वैशाख २ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका रहेको छ। 

शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासङ्घले यसअघि नै बताइसकेको छ। गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात् २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमति भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै सङ्केत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

१३ दिनदेखि जारी आन्दोलनको सम्बोधन तथा शिक्षकहरूको माग पुरा गरी शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउनुपर्ने दबाबमा सरकार रहेको छ भने नयाँ शैक्षिक सत्र शुरु भएसँगै शैक्षिक हडताल फिर्ता लिएर विद्यालय सुचारु गर्न शिक्षकहरूलाई पनि नैतिक दबाब परेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्