बिमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याउने सरकारको योजना छ: स्वास्थ्यमन्त्री

शनिबार, चैत ९, २०८१

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज नभई थप प्रभावकारी तथा व्यवस्थित बनाउँदै लगिने बताएका छन् ।

Honor x7 pad

आज नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउँदै उनीहरुलाई उपचार सेवामा बढी भन्दा बढी सहयोग गर्ने उद्देश्यले बिमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याउने सरकारको योजना रहेको बताए ।

बाँके कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले निजी अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह्य नहुने प्रष्ट पारे । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’,मन्त्री पौडेलले भने ।

कार्यकर्ताहरुको प्रश्नको जवाफमा युवा नेता मन्त्री पौडेलले पूर्व विशिष्टलाई दिने भनिएको थप सेवा सुविधा लागु नहुने बताउँदै बरु संघीय र प्रदेश सांसदको सिट संख्या कटौती गर्नुपर्ने खाँचो रहेको औंल्याए ।

अध्यक्षताको आसनबाट बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीमा कामको आधारवाट कार्यकर्ताको मूल्यांकन हुने बताए । उनले भने(‘पार्टीमा अब गफ हैन, काम गरेर देखाउनुपर्छ । काम गर्नेको मूल्यांकन हुन्छ, गफ गर्नेहरु पाखा लाग्नेछन् ।’

पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पार्टी जिल्ला उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी, कृष्ण कार्की, लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, परमेश्वरी पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यकर्ता भेटघाटमा महासमिति सदस्यद्वय मेघराज ओली र लुटबहादुर केसी, गोपाल गिरी लगायतले जिल्लाको विकास, पार्टी संगठन लगायत समसामियक घटनाका सन्दर्भमा मन्त्री पौडेललाई जानकारी गराउँदै केही जिज्ञासा र चासो समेत राखेका थिए । 

 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्