चन्दा माग्दै कांग्रेस नेता बाल्मिकीलाई ज्यान मार्ने धम्की, कांग्रेसको गम्भीर ध्यानाकर्षण

आइतबार, फागुन २५, २०८१
honor २२ sept

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीलाई ज्यान मार्ने धम्की आएको छ। बाल्मिकीलाई चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको नेपाली कांग्रेस बाँकेले जनाएको छ।

X7D

कांग्रेस बाँकेले पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य बाल्मिकीलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ती जारी गरेर बाल्मिकीलाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कांग्रेसले यस्ता कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ । 

'कोभिड १९ पछि आएको विश्वव्यापी आर्थिक मन्दीको मारमा नेपाली जनता र निजी क्षेत्र पनि परेका छन् । देशको भविष्यलाई मार्गनिर्देश गर्न सक्ने शैक्षिक क्षेत्रमा पनि नराम्ररी प्रभाव परिरहेको छ । देशको आर्थिक अवस्थालाई सुधार गर्न सबै क्षेत्रबाट सहकार्य, सद्भाव र समन्वयको आवश्यकता भइरहेको बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाललाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तीमा भनिएको छ-'नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष समेत रहनुभएका बाल्मिकीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) संगठनको विद्यार्थी नेता भन्दै धम्क्याउने, ज्यान मार्ने धम्की दिने जस्ता कार्यहरु बारम्बार हुनु नेपालको कानुन विपरीतको कार्य हो । नेपालगञ्ज हेल्थ क्याम्पसका कर्मचारी र अध्यक्ष बाल्मिकीको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, चन्दा माग्दै ब्ल्याकमेल गर्ने जस्ता गतिविधि हुनु निन्दनीय कार्य हो । यस्ता गतिविधिमा संलग्नलाई तत्काल पहिचान गरेर कारबाही गर्न नेपाल प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।'

'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई आत्मसाथ गर्दै नेपालको संविधानले आम नागरिकको स्वतन्त्र र भयरहित बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले दिएका मौलिक अधिकारको कार्यान्वयन हुँदै गइरहेको अवस्थामा देशले अहिले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ,' कार्यबहाक सभापति अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ- नेपाली कांग्रेस शैक्षिक क्षेत्रमा भएका कमीकमजोरीलाई नीतिगत रुपमा सुधार गर्दै देशको विकासमा योगदान गरिरहेको शिक्षा क्षेत्रलाई प्रभावकारी र सक्षम बनाउने मान्यताका साथ अगाडि बढिरहेको छ । यस्तो अवस्थामा बाँके जिल्लाका विभिन्न निजी विद्यालय र व्यवसायिक संघसंस्थाहरुलाई पछिल्लो समय चन्दा माग्दै आतंकित पार्ने, त्रासपूर्ण वातावरणको सिर्जना गरी मानसिक रुपमा दबाब दिने कार्य तक्काल रोक्न अपिल गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं।'आफूलाई चन्दा माग्दै बारम्बार धम्की आइरहेपछि बाल्मिकीले प्रहरीसमक्ष आफ्नो जिउज्यानको सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्