प्रकृति लम्सालको मृत्युबारे ओडिसा सरकारले बनायो अनुसन्धान गर्न उच्चस्तरीय समिति

मंगलबार, फागुन ६, २०८१
honor २२ sept

काठमाडौँ । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । गत आइतबार ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया बुटवलकी छात्रा प्रकृति मृत अवस्थामा भेटिएकी थिइन् ।

X7D

यस विषयमा आवाज उठाउँदा नेपाली विद्यार्थीहरु उक्त विश्वविद्यालयबाट निकालिएका थिए भने उनको आत्महत्या भनिएको घटना आत्महत्या नभइ हत्या नै भएको भन्दै हत्यारालाई तत्काल कारबाही गर्न भारतसँगै नेपालमा पनि माग भइरहेको छ । 

दबाबमा आएसँगै विश्वविद्यालयले फिर्ता पठाइएका नेपाली विद्यार्थीलाई पुनः विश्वविद्यालयमा फर्काएको छ भने सबैसँग विश्वविद्यालयले माफीसमेत मागेको छ । यो घटनामा प्रकृतिको आत्महत्या नभइ हत्या भएको दाबीसहितका रिपोर्टहरु सार्वजनिक भएपछि ओडिसा सरकारले नै गम्भीर भएर अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गरेको हो । 

समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।

ओडिसा राज्य सरकारले मंगलबार जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारले गठन गरेको उच्चस्तरीय तथ्य खोजी समितिको निष्कर्षको आधारमा उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’

उक्त विश्वविद्यालयसँग सम्बन्धित हालैको दुर्भाग्यपूर्ण घटनालाई ध्यानमा राखिएको र तुरुन्तै सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालिएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।

ओडिसा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहकोसमेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्