आज बस्ने संसद बैठकमा सबै अध्यादेशलाई निर्णयार्थ पेस गरिँदै, त्यसअघि प्रचण्डबाट सम्बोधन

बिहीबार, माघ २४, २०८१
honor २२ sept

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

X7D

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नेछन् । 

साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । 

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० पेश गर्ने’ कार्यसूचीमा उल्लेख गरिएको छ ।

उता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेश गर्नेछन् ।

साथै आजको बैठकमा सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ । 

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।

संसदको हिउँदे अधिवेशनको सुरूको दिन गत शुक्रबार शीर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् । आजको बैठकमा भने प्रचण्डले सम्बोधन गर्ने  माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णायार्थ प्रस्तुत गर्नुअघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्