श्रोत नखुलेको २४ लाखसहित भारतीय युवक सशस्त्रको नियन्त्रणमा

शुक्रबार, माघ ११, २०८१
Honor 600 pro

रुपन्देही । सशस्त्र प्रहरीले श्रोत नखुलेको  २४ लाख रुपैयाँ बढीसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल रुपन्देहीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले चेकप्वाइन्टबाट नेपाली स्कुटर सवार २३ वर्षीय भारतीय युवक अभिषेक अग्रहरीको साथबाट २४ लाख १३ हजार  १३० नेपाली रुपैयाँ र १५ सय ४० भारतीय रुपैयाँँ बरामद गरेको सशस्त्र प्रहरी बल नं.२७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी रुपन्देहीका अनुसार जिल्लास्थित सिद्धार्थनगर नगरपालिका-१ चेकप्वाइन्टमा बिहीबार  चेकजाँचका क्रममा प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले लु९२प ३५४६ नम्बरको स्कुटरमा सवार ती भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत- ४ नौतनवाका युवक अभिषेकले आफ्नो शरीरभित्र लुकाएर ल्याएको अवस्थामा उक्त लाखौं रुपैयाँ नगद बरामद गरेको थियो।

अभिषेकले बरामद भएको २४ लाख बढी नगदको श्रोत खुलाउन नसकेपछि उनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले पक्राउ गरेको सशस्त्र प्रहरी बल नं.२७  गण रुपन्देहीले जनाएको छ। 

बरामद गरिएको सबै नगद, स्कुटर र पक्राउ परेका अभिषेकलाई आवश्यक कारबाही र अनुसन्धानका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको सशस्त्र प्रहरी रुपन्देहीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्