प्रचण्डले भने- बाँके-बर्दियाको हित र विकासका लागि सधै साथ रहन्छ, प्रादेशिक महोत्सवको उद्घाटन

बिहीबार, माघ १०, २०८१

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको मेहनतले नेपाललाई आर्थिकरुपले गतिशील बनाउन सकिने बताएका छन् ।

Honor x7 pad

नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगञ्ज कारकाँदोस्थित सडक विभाग परिसरमा आजदेखि सुरु भएको प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्दै प्रचण्डले देशमा केही पनि भएन भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको भन्दै त्यो सबै सत्य नभएको बताए । नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गरेका थिए ।

प्रचण्डले प्रादेशिक महोत्सवले पश्चिम क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रचण्डले बाँके-बर्दियाका हित र विकासका लागि आफू लाग्ने बताए । उनले बाँके-बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने बहस र मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत बताए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपालगञ्ज उद्योग बाणिज्य संघलाई ३० बर्षका लागि सडक विभागको १० विगाहा जमिन भोगाधिकार दिएको स्मरण गराउँदै पुनः त्यसलाई कार्यान्वयन गराउन पहल गर्ने बताए ।

उद्घाटन समारोहमा बोलेका बक्ताहरुले नेपालगञ्जको बृहत्तर हितका लागि बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएका थिए । राज्यको नीति ठीक नहुँदा सीमाबर्ती बजार सुक्दै जान थालेको उनीहरुको चिन्ता थियो । 'उद्योग, ब्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबर्द्धन' भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ २२ गतेसम्म संचालन हुनेछ । 

उद्घाटन समारोहमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघिय सांसद, प्रदेशका मन्त्री तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रिय पदाधिकारी, वरिष्ठ उद्योगपति, ब्यापारी, समाजसेवी, नागरिक अगुवा लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसदहरु किशोरसिंह राठौर, दीपा शर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उद्योग बाणिज्य संघ लुम्बिनी प्रतिनिधि देबेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।  महिला उपाध्यक्ष मन्दिरा पाण्डले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव भिम रानाभाटले गरेका थिए ।

महोत्सव उद्घाटन गर्नु अघि बिहान संघको कार्यालय त्रिभुवन चोक पुर्वबाट झाँकीसहितको बृहत र्याली निकालिएको थियो । झाँकी सुर्खेतरोड हुँदै महोत्सव स्थलमा पुगेर समापन भएको प्रवक्ता एवम महोत्सव प्रचार संयोजक डम्बर बहादुर चन्दले बताए । महोत्सबमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सका पनि स्टल छन् । सूचना तथा विज्ञान प्रविधि सम्बन्धि नवीनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिएको संघले जनाएको छ ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुति तथा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाइल्स लगायत ३ सय ५० वटा स्टलका साथै सूचना तथा विज्ञान प्रबिधि सम्बन्धि नवीनतम प्रदर्शनी, विदेशी उद्यमशाला तथा उद्योग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुनेछन् । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करीब ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्