रवि लामिछाने सांसदबाट निलम्बित

सोमबार, पुस ८, २०८१
honor २२ sept

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बन भएको हो । 

X7D

आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।

सो अनुसार संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना पत्र जारी गर्दै आज साँझ रवि लामिछाने निलम्बनमा परेको जानकारी दिएका हुन् । 

ऐन भन्छ, ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

प्रतिनिधि सभा बैठक नचलिरहेको अवस्थामा संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेर जानकारी दिएको हो ।

रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी रास्वपा संसदीय दलको नेतासमेत हुन् ।

यसअघि उनी दोहोरो नागरिकतामा परेसँगै सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएर फेरि चुनाव जितेर सांसद भएका थिए । 

यसपालि उनी गत कार्तिक २ गते सहकारी प्रकरणमा पक्राउ परेका थिए भने आइतबार लामो समयको अनुसन्धानपछि उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि थपिएको छ । 

रविले पार्टीको सभापतिको हैसियतले कार्यबाहक डीपी अर्याललाई बनाउन सिफारिस गरेअनुसार अर्याल सर्वसम्मत भएका छन् । पार्टी संसदीय दलको नेताको हैसियत पनि अब डीपीले नै लिनेछन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्