रविविरुद्ध झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी

आइतबार, पुस ७, २०८१
honor २२ sept

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध झण्डै २८ करोड  रुपैयाँ बिगो माग दाबी भएको छ। आज सरकारी वकिल कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा तीन वटा मुद्दा दर्ता गर्दै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर गरेको छ।

X7D

सरकारी वकिल कार्यालयका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो । लामिछाने सहित ४४ जनालाई विपक्षी बनाइएको छ । सहकारी ठगी प्रकरणमा  गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध अदातलमा मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको थियो ।

सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । 

चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गरिएको हो । कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आजसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ ।  मुद्दा दर्ता भएसँगै उनलाई हिरासतमै राखेर कारबाही प्रकिया अगाडि बढाउने कि तारेखमा राखेर गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्